बोट बढ्न, निश्चित आकार दिन तथा हाँगा र पातको समुचित वृद्धि र विकासको लागि आवश्यक खाद्यतत्वको मात्रा तथा माटोले मल सोसेर लिन सक्ने क्षमताको र माटो वा बोटको पात जाँच गरेर प्राप्त नतिजाको आधारमा मलखादको मात्रा सिफारिस गरिन्छ । साधारणतया फलले माटोबाट लिएको पोषक तत्वको मात्रा अर्को वर्ष फल लाग्ने डाँठ/पात/हाँगा/काण्डलाई आवश्यक पर्ने पोषक तत्व र माटोबाट उडेर र चुहिएर जाने पोषक तत्व समेत विचार गरी मलखादको मात्रा सिफारिश गरिन्छ । हुर्केको र धेरै फल्ने कफी बोटलाई प्रतिवर्ष सामान्यतया १०० ग्राम नाइट्रोजन, २०–३० ग्राम फस्फोरस र १०० ग्राम पोटास मलको आवश्यकता पर्दछ । १ टन क्लिन बिन उत्पादन गर्दा ४० के.जी. नाइट्रोजन, ७ के.जी. फस्फोरस र ४५ के.जी. पोटास उपयोग गर्छ । तसर्थ उत्पादकत्वका आधारमा पनि मलको मात्रामा फरक पर्छ ।
- साधारणतय पहिलो वर्ष ५ ग्राम नाइट्रोजन र ५ ग्राम पोटास प्रति बोट ३–४ पटक दिने ।
- दोस्रो बर्ष १० ग्राम नाइट्रोजन र १० ग्राम पोटास प्रतिबोट ३–४ पटक गरेर दिने ।
- तेस्रो देखि पाँचौ वर्ष १२ ग्राम नाईट्रजन, ५ ग्राम फस्फोरस र १२ ग्राम पोटास प्रतिबोट ३–४ पटक गरेर दिने |
प्रभावकारी रूपमा मलको प्रयोग गर्ने तरिका
- प्राङ्गरिक मलको प्रयोग बढी भन्दा बढी गर्ने ।
- खेतबारीमा भएका झारपातहरू कुहाएर पुनः प्रयोग गर्ने ।
- हाँगाहरु जहाँसम्म फैलिएको छ, सो को मुनि ३० देखि ४० से.मि. लम्बाई, २० देखि ३० से.मि.चौडाई र १५–२० से.मि. गहिरो खाडल खनि मल राख्ने ।
- प्रत्येक वर्ष हाँगाहरु फैलिए अनुसार बोटबाट दूरी मिलाई खाडल खनि मल राख्ने र खाडल फरक दिशामा बनाउने ।
महिनामा एक पटक झोलमलको प्रयोग गर्ने ।
