विरूवा लगाउनु भन्दा एक दुई महिना पहिलेदेखि रेखांकन गरी खाडल खन्नु पर्छ । खाडल एक हात (४५ से.मि.) गहिरो र त्यतिकै चौडा हुनुपर्छ । माथिल्लो आधा भागको मलिलो माटो छुट्टै र तल्लो भागको माटो छुट्टै राख्नु पर्छ । खाडल खनेपछि १५/२० दिन त्यसै खुला राख्नु पर्छ, यसो गर्दा माटो भित्र रहेका कीरा एवं रोगका जीवाणु घामको रापले नष्ट हुन्छन् । खाडल पुर्ने समयमा खाडलको एकातिर थुपारेको माथिल्लो भागको माटोमा ४/५ केजी राम्रोसँग पाकको गोठे वा कम्पोष्ट मल, २५० ग्राम नीम वा च्यूरीको पीना/खरानी र २०० ग्राम कृषि चुन मिलाई खाडलको पीँंधमा राख्ने र त्यसपछि अर्कोतिर थुपारेको तल्लो भागको माटोले जमिनको सतह भन्दा १० से.मि. (चार इन्च) उचा हुने गरी खाल्डो पुर्नु पर्छ । यसरी पुरेको खाल्डोमा पछि विरूवा लगाउँदा थाहा पाउन ठीक बीचमा पर्ने गरी एक किला गाड्नु पर्छ ।