कफीको बोटमा फूल बन्ने प्रक्रिया आन्तरिक रुपमा असोज महिना देखि नै शुरु हुन्छ र क्रमशः कोपिला हुँदै बढ्दै चैत्र महिनामा फुल्छ । साना सेता फूलका झुप्पा एक वर्ष पुरानो हाँगामा फुल्छन् । प्रत्येक आँख्लामा ५ वटा फूलका कोपिला हुन्छन । प्रत्येक कोपिलामा ४ वटा बास्नादार फूल फुल्छन् । २० देखि ८० प्रतिशत फूलमा मात्र फल लाग्छ । त्यसैले प्रत्येक आँख्लामा १० देखि २० वटा फल लाग्न सक्छ ।
अराबिका कफी स्वयंसेचित बाली हो । कफीको फूल बिहानको समयमा फुल्छ र फुलेको ५ घण्टाभित्र परागसेचन हुन्छ । फूल फुलेको समयमा वर्षा भएमा पराग पखालिने हुँदा फल कम लाग्ने सम्भावना हुन्छ । परागसेचन भएको २ दिनभित्र गर्भाधारण हुन्छ । फूलबाट परिपक्व फलमा विकास हुन हावापानी र जात अनुसार अराविकालाई ६ देखि ९ महिना र रोवस्टालाई ९ देखि ११ महिना लाग्छ ।
कफीको फललाई बानस्पतिक भाषामा (drupe) डुप भनिन्छ, जुन पाकेपछि जात अुनसार राता र पहेला रङ्गमा परिवर्तन हुन्छन् । साधारणतया यसको फल भित्र दुई वटा बीउ वा फक्लेटा हुन्छन्, जसलाई पार्चमेन्ट भनिन्छ। कुनै फलमा एक र कुनैमा दुई भन्दा बढी पार्चमेन्ट हुन सक्छन्। फलमा एक मात्र पार्चमेन्ट भए पी बेरी र तीन वटा भए ट्रायोज भनिन्छ ।
फलको बाहिरी बोक्रा र पार्चमेन्टको बीचमा गुदी हुन्छ, जसलाई गुम्स्याएर फाल्नु पर्छ । पार्चमेन्टलाई भित्री झिल्लीदार बोक्राले घेरेको वा छोपेको हुन्छ जसलाई सिल्भर स्किन (silver skin) भनिन्छ । सिल्भर स्किन भन्दा भित्र फिक्का हरियो रंगको दिउल हुन्छ यसलाई ग्रिन विन भनिन्छ । यहि दिउललाई भुटेर पिधेको धुलो कफीलाई उमालेको पानीमा छानेर पिउने कफी तयार गरिन्छ ।
