कफी प्रशोधन भन्नाले पाकेको कफीको फललाई विभिन्न प्रक्रिया अपनाई पिउन योग्य धुलो बनाउनु हो । यसका लागि विशेष गरी २ तरिका (सुख्खा र चिसो प्रविधि) प्रचलनमा छन् । विगतमा नेपालमा राष्ट्रिय तथा अन्तर्र्रािष्ट्रय दुवै बजारको लागि सुख्खा प्रशोधन प्रविधि अनुसार ताजा फललाई सुकाएर ड्राई (सुकेको चेरी उत्पादन गर्ने चलन थियो । तर केही समययता अन्तर्रािष्ट्रिय बजारको माग र गुणस्तरलाई दृष्टिगत गरी चिसो प्रविधि शुरु गरिएको छ ।
सुख्खा विधि
यस विधिमा कफीको फललाई बोक्रा सहित १५ देखि २० दिन सम्म वा चेरीमा ११ देखि १२ प्रतिशत चिस्यान रहने गरी सुकाउनु पर्छ । सुकेको चेरी हलर मेशिन वा ढिकीले कुटेर बोक्रा छोडाउनुपर्छ र निफन्ने केलाउने गरेर दिउल तयार गर्नुपर्छ । यही दिउल भुटेर पिंधेर धूलो कफी तयार हुन्छ ।
चिसो विधि
चिसो प्रविधिबाट प्रशोधन गर्दा ठिक्क पाकेका चम्किला राता फलहरु मात्र टिपी २४ घण्टाभित्र बोक्रा हटाई अर्थात पल्पिङ्ग गरी ठाउंँ अनुसार २४ देखि ४८ घण्टा सम्म गुम्स्याएर (फर्मेन्टेसन गरी) चिप्लो पदार्थ (म्यूसिलेज) हटाउन सफा पानीले धोएर घाममा सुकाई पार्चमेण्ट तयार गरिन्छ । यसरी तयार गरिएको कफीको गुणस्तर राम्रो हुन्छ । यसलाई धोएको वा पखालेको कफी पनि भनिन्छ । पार्चमेन्ट तयार भएपछि जुटको सफा बोरामा राखि भण्डारण गरिन्छ र कफी प्रशोधकलाई विक्री गरिन्छ । दिउलको बोक्रा हटाई वा हलिङ्ग गरी बिक्री योग्य कफी (ग्रिन बिन) तयार गरी भुटने र पिँधेर धूलो बनाई पिउन योग्य बनाईन्छ ।
