कफी बिरूवा लगाइएको पहिलो तीन वर्षसम्म नियमित रुपमा झारपात नियन्त्रण अनिवार्य रुपले गर्नुपर्छ । झारपातले बिरूवासँग खाद्यतत्व र चिस्यानको लागि प्रतिस्पर्धा गर्छ र बोटमा सूर्यको प्रकाश छिर्न दिंदैन जसको फलस्वरुप खास गरेर साना बोट कमजोर हुन्छन् र मर्दछन् । झारपातको नियन्त्रण निम्न अनुसार गर्न सकिन्छ ।
झारपात उखेल्ने
नया बगैंचामा वर्षको ३–४ पटक र पुरानो बगैंचामा २–३ पटक झारपात उखेलेर, काटेर वा छाँटेर नियन्त्रण गर्नुपर्छ । वर्षातको समयमा झार काटेर छाड्ने र वर्षातको अन्तमा गोडेर बगैंचा सफा राख्ने गर्नुपर्छ ।
झार खनेर पल्टाउने
वर्षातको अन्तमा नया बगैंचामा १–१.५ फिट गहिरो र पुरानो बगैंचामा ३ ईन्च हलुका खनाई गरी झार पुर्ने गर्दा जमिन उर्वर हुन्छ, झार कम आउँछ र माटोमा चिस्यान रहिरहन्छ ।
छापो हाल्ने
वर्षातको अन्ततिर गोडमेल गरी छहारी रुखको पात, काटेको झारपात, कफी फलको बोक्रा र अन्य प्राङ्गारिक पदार्थले छापो हाल्दा झार नियन्त्रण हुन्छ । साना बिरूवालाइ छापो दिनु अति जरुरी हुन्छ ।
मिश्रित बाली लगाउने
मिश्रित बालीलाई अन्तरबाली, सहयोगी बाली, बहुतले खेती, विविध बाली खेती प्रणाली आदि नामले चिनिन्छ । एक आपसमा मेल खाने दुई वा दुईभन्दा बढी बालीलाई जमिनको सदुपयोग हुने गरी लगाउँदा कुनै एक बाली नोक्सान भए पनि अर्को बालीबाट क्षतिपूिर्त हुन सक्छ । कफी बोटमा छहारीको रुपमा लगाइएका छायाँदार रुखहरुबाट घाँस, दाउरा, काठ आदि उपलब्ध हुन्छ, माटोको भू–क्षय रोकिन्छ, पातबाट छापो र प्रांङ्गारिक मल प्राप्त हुन्छ, कफीको जरालाई न्यानो राख्छ, बोटलाइ शितल बनाउँछ, वातावरण शुद्ध बनाउँछ र कफी फलको गुणस्तर बढाउँछ । डेस्मोडियम, सिरात्रो, तरवारे सिमी वा कोशेवालीका कुनै पनि जात कफी बालीमा मिसाएर रोपेमा माटोको मलिलोपना बढ्नुको साथै चिस्यान कायम राख्न मद्दत पुग्छ ।
अन्तरबाली लगाउने
कफी बिरूवा लगाइएको २–३ वर्षसम्म बोटहरुको बीचको खाली जमिनमा हरियो मल बाली, कोसे घाँस बाली, कोसेबाली, तरकारी बाली, आलु, सखरखण्ड, बन्दा, अदुवा, हलेदो आदि अन्तरबालीको रुपमा लगाउन सकिन्छ । नेपालमा प्राङ्गारिक कफी मात्र उत्पादन गर्ने लक्ष्य भएको हुनाले अन्तरबाली लगाउँदा यी बालीहरुमा पनि रासायनिक मल तथा विषादीको प्रयोग नगरी प्राङ्गारिक मल तथा विषादी प्रयोग गर्नुपर्छ ।
